ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि माधवकुमार नेपालले भने – राजीनामाको कुरा केही दिनलाई टर्‍यो

232

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।

‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।‘बैशाख २६ गते केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे विषयवस्तु अघि सारेको थिएँ, त्यसमा छलफल गरियो’ ओलीसँगको भेटवार्तापछि नेता नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउने सहमति भएको छ ।’

त्यस्तै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल जारी राख्ने भन्ने कुरा भएको र कुरा जारी रहेको पनि बताए । त्यस्तै उनले समस्या समाधान गर्न कार्यदल बनाएर सहमतिका आधारमा टुंगो लाग्ने नेता नेपालको भनाइ छ ।

यस्तै, तीन लामो कोसिसका बावजुद नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकारका लागि बहुमत जुटाउन असफल भएका छन्।

नेकपा माओवादी केन्द्र र कांग्रेसले नयाँ सरकारका लागि दाबी नगर्ने भएपछि फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने पक्का भएको छ। कांग्रेस पदाधिकारीहरूको सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारको दाबी नगर्ने निर्णय लिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘तीन दलको पूरै समर्थन जुट्न सकेन। तीन दलको पूरै मत नजुटी परिणाम नआउने दाबी गर्न जाने कुरा भएन’, महतले भने,’जसपामा महन्थ ठाकुरले केपी ओलीजीलाई नै समर्थन गर्ने मानसिकता देखाउनु भयो। त्यहीकारण बहुमत नपुगेकाले सरकारको दाबी गर्न नजाने निर्णय हामीले लिएका छौँ।’उता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि बहुमत नपुगेपछि ओलीलाई हटाएर नयाँ सरकार बन्न नसक्ने निचोड निकालेको छ। माओवादी स्थायी कमिटी सदस्य गणेश साहका अनुसार अब दुई वा दुईभन्दा बढी दलहरु मिलेर नयाँ सरकार बनाउन राष्ट्रपतिकहाँ नजाने निर्णय गरिएको हो ।

आफूहरुको पक्षमा बहुमत नपुग्ने निश्चित भएपछि सरकारका लागि दाबी नगर्ने सहमति कांग्रेस र माओवादी केन्द्रबीच भइसकेको छ । ‘अब हामीले दाबी नगर्ने भयौं । संख्या पुगेन, संख्या नपुगेपछि दाबी नगर्ने भइयो,’ उनले भने ।बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफलमा जुटेका छन्। यद्यपि सरकार दाबी नगर्ने निर्णय भने स्थायी कमिटी बैठकले गरिसकेको छ।

नयाँ सरकार दाबी गर्ने समयसीमा नजिकिँदै जाँदा राजनीतिक दलहरु तीव्र दौडधुपमा छन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । ३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जसपाभित्र देखिएको विवाद र एमालेको माधव नेपाल समूहले दिने भनिएको राजीनामा टरेपछि सरकार गठन गर्नबाट विपक्षी गठबन्धन पछि हटेको हो ।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए । सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

यो सँगै पुनः प्रधानमन्त्रीमा केपी शर्मा ओली नै हुने निश्चितप्रायः भएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ।यही सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसकेपछि पदमुक्त भएका थिए। विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।प्रधानमन्त्री ओली संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका थिए। तर यिनै तीन दलले तीन दिनको कोसिसमा पनि बहुमत जुटाउन असफल भएपछि ओली नै प्रधानमन्त्री हुने पक्का भएको छ। राष्ट्रपतिले दिएको तीन दिनको म्याद अहिले राति नौ बजे सकिँदैछ।

Leave A Reply

Your email address will not be published.