कोरोना महामारीका कारण नेपालको चीनसँगको व्यापार ऋणात्मक हुँदै

190

नेपालको चीनसँग आयात–निर्यात हुने नाका नियमति रुपमा खुला नहुँदा व्यापार क्रमिक रुपमा ऋणात्मक हुँदै गएको हो। कोरोना महामारीको असरले रसुवाको केरुङ नाका लामो समयदेखि बन्द भएर हालै खुला भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयदेखि अवरुद्ध नै छ। नाका नियममित रुपमा खुल्न नसक्दा यो वर्ष चीनसँग हुने व्यापारमा उल्लेख्य कमी आएको कारोबार अनलाइनले लेखेको छ।

नेपालबाट निर्यात हुने सामान चीन जान सकेका छैनन् भने चीनबाट आउने सामान पनि नाकामा थन्किएर बसेका छन्। चीनबाट आयात हुने लत्ताकपडालगायत अन्य सामान आउन नसक्दा बजारमा महँगी बढेको छ। काठमाडौंको भृकुटीमण्डप, न्युरोड, खिचापोखरीलगायत अन्य बजारमा चिनियाँ सामान बढी बिक्री हुने गर्छ।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल नाका नियमति रुपमा खुल्न नसक्दा समयमा सामान आउन नसकेको बताउनुहुन्छ। “कोभिडका कारणले लामो समयदेखि सामान नाकामा रोकिँदा व्यवसायीलाई ठूलो क्षति भयो,” उहाँले भन्नुभयो, “अहिले पनि समय समयमा केरुङ नाका खुल्ने र बन्द हुने गर्दा सामान आउन कठिन भएको छ।” व्यापारीलाई चीनले भिसा नदिएकाले सामान ल्याउन नसकिएको उहाँको भनाइ छ। चिनियाँ सामान अन्य मुलुकको तुलनामा सस्तो पर्ने भए पनि नाकामा देखिएको समस्याको कारण ढिलाइ हुँदा हाल महगो हुँदै गएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म चीनबाट १ खर्ब १६ अर्ब १२ करोड १० लाख ६२ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ। अघिल्लो वर्ष सो अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड ८१ लाख ७७ हजार रुपैयाँको सामान आयात भएको थियो। चीनबाट अघिल्लो आर्थिक वर्षको तुलनामा १६ अर्ब रुपैयाँ बराबरको सामान कम आयात भएको छ।

चालु आर्थिक वर्षको सात महिनासम्म चीनमा नेपालबाट ५५ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ। गत वर्ष सो अवधिमा ११ करोड ९२ लाख ३ हजार रुपैयाँको सामान निर्यात भएको थियो। यो वर्ष सात महिनाको अवधिमा चीनबाट आयात घटे पनि निर्यात भने बढ्न गएको तथ्याङ्कले देखाएको छ।

Leave A Reply

Your email address will not be published.