सरकार-विप्लव वार्ता: विप्लवमथिको प्रतिबन्ध फुकुवा, यस्तो छ विप्लवको विगत

391

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

सहमति शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह लाई शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

सहमतिअनुसार विप्लव समूहका नेता(कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ‘विप्लव’ समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।सरकारले आतंककारी गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

यस्तो छ विप्लवको विगत
तत्कालीन माओवादीले २०५२ फागुन १ बाट ‘जनयुद्ध’ सुरु गरेको थियो। ‘जनयुद्ध’ सुरु गर्दा विप्लवले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए। २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएको थियो।

२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बनेका हुन्। २०५९ सालमा माओवादीको पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए।

जनयुद्धका बेला प्रचण्डका एक विश्वास पात्र थिए उनी। तर, शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध चिसिँदै गयो। पार्टीभित्र छलफल नगरी जनयुद्ध रोकेको र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकोप्रति दाहालसँग विप्लव रुष्ट बनेका थिए।दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध चर्किँदै गएको थियो।

२०६४ साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले पार्टी नेतृत्वसँग असहमति राख्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे। त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए।

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा पुष्पकमल दाहाल (प्रचण्ड), मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामहादुर थापा (बादल) लगायतका वरिष्ठ नेताहरूसँग निर्वाचन सफल बनाउन खटिएका विप्लव २०७० सालको दोस्रो संविधान सभाको चुनावमा वैद्य र बादलसँगै निर्वाचन बहिस्कारको रणनीति तयार गर्न तल्लिन थिए। उनले चुनावमा कहिल्यै भाग लिएनन् भने सरकारमा पनि गएका छैनन्।

विप्लवले एकीकृत माओवादी पार्टीमा रहँदा नेतृत्वले लिएको नीतिप्रति पटक पटक आफ्ना असहमति दर्ज गर्दै आउने गरेका थिए। उनले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए।

२०६९ भदौमा बौद्धमा राष्ट्रिय भेलाको आयोजना गरेर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्दाका प्रमुख योजनाकारमध्ये विप्लव एक हुन्। वैद्य नेतृत्वको पार्टीमा उनी करिब २ वर्ष सचिव बने।प्रचण्ड नेतृत्वको एकीकृत पार्टी र वैद्य नेतृत्वको पार्टीमा पनि विद्रोही चरित्र देखाइरहेका उनले अन्ततः २०७१ मंसिर ८ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए।२०७३ फागुनमा रोल्पामा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी राखेको घोषणा गरे।

Leave A Reply

Your email address will not be published.