असल नेता कसरी बन्ने ? –चाउ एन लाइ

129

१. नेताको परिभाषा
जोसुकै कार्यकर्ताले कहिलेकाहीं नेतृत्वको काम गर्नुपर्ने हुनसक्छ र उनले यो काम गरिरहेको हुनु धेरै सम्भव छ । तसर्थ, नेतृत्वको काम निम्न, मध्यम वा उच्च, सबै स्तरका नेतृत्वदायी कार्यकर्ताहरुसित सम्बन्धित काम हो ।

होङ्यान र चेङ्शीयानमा८ स्टाफ सदस्यहरुको माझमा प्रत्येकले गर्ने कामको किसिममा मात्र भिन्नता छ, तर नेता र अनुयायीहरुको माझमा कुनै भिन्नता छैन, कार्यकर्ता र गैर–कार्यकर्ताको माझमा त झन् कम भिन्नता पाइन्छ । होङयान र चेङशियानमा ‘नव चीन’ दैनिकको कार्यालयमा काम गरिरहेको कुनै–कुनै कामरेडहरुले नेतृत्वको जिम्मेदारी प्रत्यक्ष रुपमा बहन गरिरहेका छैनन्, तर पनि उनीहरु वास्तवमा नेता हुन् ।

२. नेताले लिनुपर्ने अडान
नेतृत्वदायी कार्यकर्ताहरुले आफूले गर्ने प्रत्येक काममा पार्टीको दृष्टिकोणलाई आधार बनाउनु पर्छ । तर यो सामान्य भनाइ मात्र हो । बढी विशेष ढंगबाट भन्ने हो भने, नेतृत्वदायी कार्यकर्तामा तलका गुणहरु हुनुपर्छ:
(क) दरो मार्क्सवादी–लेनिनवादी विश्व–दृष्टिकोण र जीवनबारे क्रान्तिकारी दृष्टिकोण,
(ख) सिद्धान्तप्रति निष्ठा,
(ग) जनताको तागतमा आस्था,
(घ) अध्ययनप्रति समर्पण,
(ङ) दरो जुझारु भावना,
(च) अनुशासनको उच्च भावना,

३. नेता र नेतृत्वदायी संगठनहरु
(क) सामुहिक नेतृत्व र माथिल्लो स्तरद्वारा तल्लो स्तरको नेतृत्व, एकीकृत नेतृत्व, केन्द्रीयता र जनवाद (छलफल र कार्य–विभाजन)
(ख) व्यक्तिगत जिम्मेदारी र व्यक्तिगत नेतृत्व– विशाल पृष्ठभागमा यसको खास रुपले खाँचो छ र सामुहिक नेतृत्वले यसको कदापि निषेध गर्दौन।
(ग) प्रत्यक्ष व्यक्तिगत हस्तक्षेप र माथिबाट निर्णय– यो सामान्य चलन होइन, बरु खास परिस्थितिमा वा दृष्टान्त प्रस्तुत गर्नका लागि प्रयोग गरिने तरिका हो ।

४. सही नेतृत्व भनेको के हो ?
अब म स्टालिनले एकपल्ट उल्लेख गर्नुभएका तीन बुँदाहरुको ८ विशद व्याख्या गर्नेछु । त्यसमा भनिएको छ: “उचित नेतृत्व गर्नुको अर्थ हो: पहिलो, समस्याको उचित सामाधानको पत्ता लगाउनु, तर हाम्रो नेतृत्वको फल भोग्ने जनसाधारणको अनुभवलाई ध्यानमा नराखीकन समस्याको उचित समाधान पत्ता लाउनु असम्भव छ; दोस्रो, सही समाधानको प्रयोगलाई संगठित पार्नु तेस्रो, सो समाधान पूरा भएको कुरोको प्रमाणीकरण गर्नु; फेरि यो काम पनि जनसाधारणको प्त्यक्ष सहयोगविना गर्न सकिंदैन ।”

क) लिएका फैसलाहरु सही हुनुपर्छ । पहिलो, नेताहरुले खास समयमा खास ठाउँका विशेषताहरुलाई पत्ता लाएर, स्थितिको मूल्यांकन गर्नुपर्छ र सम्भव परिवर्तनहरुको पूर्व जानकारी राख्नुपर्छ । दोस्रो, उनीहरुले यो सबैलाई पार्टीको सामान्य अभिभारासित सम्बन्धित पार्नुपर्छ र खास अवधिका लागि अभिभारा र नीति निर्धारित गर्नुपर्छ । तेस्रो, सो नीतिअनुरुप, उनीहरुले विद्यमान स्थितिसित मिल्दा नारा र कार्यनीति बनाउनुपर्छ । चौथो, अनि उनीहरुले यथार्थवादी योजना तथा निर्देशनहरुको तर्जुमा गर्नुपर्छ । उनीहरुले वास्तविक स्थितिको गहन अनुसन्धान र अध्ययन गरेर यी सारा कामहरु गर्नुपर्छ र परिणामलाई पार्टी विचार र सिद्धान्तहरुसित गाँस्नुपर्छ ।

ख) सही फैसलाहरुलाई कार्यान्वित गर्नुपर्छ । पहिलो, नेताहरुले योजना र निर्देशनहरुलाई कार्यान्वित गर्ने उपायहरुबारे छलफललाई संगठित पार्नुपर्छ । दोस्रो, उनीहरुले सावधानीपूर्वक योग्य व्यक्तिहरु छानेर तिनीहरुलाई योजना कार्यान्वयन गर्ने जिम्मा दिनुपर्छ । तेस्रो,उनीहरुले पार्टीको योजना पूरा गर्न प्रयत्नहरुलाई संगठित पार्नुपर्छ । चौथो,दृष्टान्त प्रस्तुत गर्ने उद्येश्यले उनीहरुले व्याक्तिगत रुपवाट कार्यान्वयनमा भाग लिनुपर्छ । यसो गरेमा,उनीहरुले पार्टीका कार्यदिशा तथा कार्यनीति सही छन् कि छैनन्,वा त्यसलाई हेरफेर गर्नुपर्छ कि पर्दैन भन्ने कुरा व्यवहारद्वारा पत्ता लगाउन सक्छन् ।

ग) फैसलाको वास्तविक कार्यान्वयनको समीक्षा हुनुपर्छ । यस्तो समीक्षा गर्ने तरिकाहरु: (१) हामीले कबुललाई भन्दा कामको ठोस परिणामलाई ध्यानमा राख्नुपर्छ, (२) हामीले कागजी योजनालाई मात्र हेर्नु हुदैन, बरु काम विवेकपूर्ण ढंगवाट गरिंदै छ कि लापरवाही ढंगवाट गरिंदै छ भन्ने कुराको जाँच गर्नुपर्छ (३) हामीले रुपमा भन्दा वस्तुसारमा ध्यान दिनुपर्छ र फैसलालाई सही ढंगवाट कायान्वित गरिंदै छ कि त्यसलाई तोडमोड गरिँदैछ भन्ने कुरा जाँच्नु पर्छ, (४) माथिवाट तल मात्र होइन, तलबाट माथि पनि समीक्षा गरिनुपर्छ (५) समीक्षा व्यवस्थित र नियमित हुनुपर्छ,र नेताहरुले व्यक्तिगत रुपमा समीक्षामा भाग लिनुपर्छ ।

स्टालिनले भन्नुभए अनुसार, नेताहरुले जनसाधारणसित घनिष्ठ सम्बन्ध कायम गर्नुपर्छ र नेता र जनसाधारण दुवैवाट प्राप्त गरिएको अनुभवलाई संयोजित गरिनुपर्छ । यसरी मात्र सही नेतुृत्व हुन सक्छ ।

५. नेताका अभिभाराहरु
कामरेड माओ चतुङ के भन्नुहुन्छ भने कार्यकर्ताहरुको राम्रो प्रयोग गर्नु र नीति कार्यान्वित गर्नु नेताका अभिभाराहरु हुन् । यो साँचो हो । तिनलाई टुक्रयाउँदा ती निम्न प्रकारका हुन्छन्ः

क) नेतृत्वदायी कार्यकर्ताहरुले विचारधारात्मक र राजनीतिक नेतृत्वप्रति निकट ध्यान दिनुपर्छ । यसको निम्ति उनीहरुले निरन्तर रुपमा आफ्नो विचारधारात्मक स्तर उठाउनु र आफ्नो राजनीतिक प्रशिक्षणलाई बलियो पार्नुपर्छ । हामी के माग गर्छौ भने हाम्रा कार्यकर्ताहरुले निम्न कुराहरुमा आफ्नो ध्यानलाई केन्द्रित पारुन्:

१) महत्वपूर्ण कुरोमा जोड दिनु ।
२) राजनीतिक चनाखोपनलाई तिखार्नु ।
३) आफ्नो सैद्धान्तिक स्तर उठाउनु ।
४) पार्टीभित्र र बाहिर विचारधारात्मक संघर्षलाई तीब्र पार्नु, र
५) पार्टीका नीति र उपलब्धिहरुलाई सक्रिय रुपमा जनतामा प्रचार गर्नु ।
ख) नेतृत्वदायी कार्यकताहरुले संगठनात्मक नेतृत्वप्रति राम्रो ध्यान दिनुपर्छ । राजनीतिक कार्यदिशाको प्रतिपादन भएपछि,संगठनात्मक कामले सव कुराको फैसला गर्छ । हामी तलका कुराहरुप्रति आफ्ना कामरेडहरुको ध्यान आकृष्ट गर्छौः
१) संगठनात्मक नेतृत्वलाई राजनीतिक नेतृत्वको स्तरसम्म उठाइनु पर्छ, अर्को शब्दमा भन्ने हो भने, सबै खालको कामलाई सैद्धान्तिक आधारमा राख्नुपर्छ,
२) सारा संगठनात्मक तथा दैनिक कार्यले पार्टीका राजनीतिक अभिभाराहरुको परिपुर्तिलाई र त्यसको कार्य योजनाको सिद्धिकरणलाई सुनिश्चित पार्ने काम गर्नुपर्छ ।
३) पार्टीको दैनिक नेतृत्वलाई महत्व दिइनुपर्छ, जसले गर्दा पार्टी संगठनहरु तलसम्म घनिष्ठ रहन्छन् र तिनीहरुको काम अझ बढी ठोस बन्छ ।
४) सारा अप्ठ्याराहरुलाई हटाउनका लागि पार्टी संगठनहरु र जनसाधारणहरुलाई संचालित गरिनुपर्छ ।
५) हामीले सबै खालको अवसरवाद जस्तो कि लापरवाही, ब्यर्थको बकवाद, हठीपन, नोकरशाही, औपचारिकतावाद, र लालफित्ते रुटिनवाद, भ्रष्टाचार, पतन, आदिको विरोध गर्नुपर्छ ।

ग) कार्यकर्ताहरु छान्नमा र कामको जिम्मा लगाउनमा विवेकको प्रयोग गरिनुपर्छ । यो पनि संगठनात्मक कार्यको हिस्सा हो, तर यसलाई छुट्टै रुपमा गर्न सकिन्छ । राजनीतिक योग्यता र कार्य क्षमता दुवै कार्यकर्ताहरुको चयनमा अपरिहार्य कसी हुन्, तर राजनीतिक विश्वासयोग्यता प्राथमिक रहन्छ । एकपल्ट स्टालिनले मानिसहरुले सिद्धान्तअनुसार नियुक्ति नगरिदिंदा पार्टीलाई भएको हानीतर्फ औल्याउनुभएको थियो । उहाँले के भन्नुभयो भने यस्ता मानिसहरु जहाँ गए पनि तिनको पछाडि “चाकडीबाजहरु”को ठूलो भीड लाग्छ र उनीहरुले आफूलाई “आफ्नै” मान्छेजस्तो लागेकाहरुलाई मात्र नियुक्ति दिन्छन् ।

शुद्धीकरण आन्दोलनबारे आफ्नो एउटा प्रतिवेदनमा कामरेड माओत्सेतुङले पनि “बेइमान” भएकोमा यस्ता मानिसहरुको आलोचना गर्नुभएको छ । त्यो “जहाँतहीं दौडाहामा जाने साम्राजी दूतहरु” को कमजोरी हो । कार्यकर्ता राजनीतिक दृष्टिले विश्वासयोग्य भए पनि उसलाई (समय, ठाउँ र स्थिति हेरेर) उचित ढंगबाट प्रयोग गर्नु महत्वपूर्ण छ ।

घ) कामको समीक्षा हुनुपर्छ । कार्यकर्ताहरुको काम र कार्ययोजनाको कार्यान्वयनको समीक्षा हुनुपर्छ । स्टालिनको भनाइअनुसार, समीक्षाका उद्देश्यहरु यी हुन्: पहिलो, कार्यकर्ताहरुको योग्यता जान्नु, दोस्रो, कार्यकारिणी यन्त्रका गुण–अवगुणहरुलाई निर्धारित गर्नु, र तेस्रो, प्रस्तुत अभिभारा वा निर्देशनहरुका गुण र दोषहरुलाई निर्धारित गर्नु । .. कोही नेताहरु के ठान्छन् भने, यस खालको समीक्षाले उनीहरुका आफ्ना कमजोरीहरुको पर्दाफास गरेर उनीहरुको प्रतिष्ठालाई धमिल्याउनु वा उनीहरुको आत्मविश्वासलाई धर्मराउनु सम्भव छ । यो गलत कुरा हो । आफ्ना गल्तीहरुलाई ढाकछोप गरेर होइन, बरु तिनलाई ‘सच्याएर’ र फाइँफुट्टी र घमण्ड गरेर होइन, बरु आफूलाई कठिन काममा लगाएर नेताहरु आफ्नो प्रतिष्ठालाई उठाउँछन् । गल्तीहरु सच्याउँदा विश्वास कमजोर हुँदैन, बरु बलियो मात्र हुनेछ । घमण्डी र लाज बचाउन चाहने मानिसहरु मात्र गल्तीको पर्दाफास होला भनी डराउँछन् ।

ङ) जनताको बीचमा जाऊ । नेताले जनसाधारणलाई सिकाउने मात्र होइन, उनीहरुबाट सिक्नु पनि पर्छ । कारण के भने नेताहरुको आफ्नै ज्ञान अधुरो हुन्छ र उनीहरुको अनुभव अपर्याप्त रहन्छ । नेतृत्वदायी स्थान आफैले ज्ञान र अनुभव दिन सक्दैन । त्यसैले जनतामा गएर उनीहरुबाट अनुभव लिनु आवश्यक छ । हामी के माग गर्छौ भने १. कामरेडहरु जनताको निकट रहून्, उनीहरुसित सम्पर्क राखून् र केही हदसम्म उनीहरुसित एक होऊन्, २. उनीहरुले जनआवाजप्रति ध्यान दिऊन्, ३. तिनीहरुबाट सिकून्, र ४. तिनीहरुको पिछ्लग्गू बन्नुको सट्टामा तिनीहरुलाई शिक्षित पारुन् ।

६. जनसाधारणको नेतृत्व गर्नु र तिनीहरुलाई साथी बनाउनु
क) पार्टी सदस्यहरुको जुन ढंगबाट नेतृत्व गरिन्छ, त्यही ढंगबाट जनसाधारणको नेतृत्व गरिनु हुँदैन । जनसाधारणको नेतृत्व गर्ने तरिका र उनीहरुप्रति लिइने हाम्रो दृष्टिकोणबाट उनीहरुमा के भावना नपरोस् भने हामी नेतृत्वको प्रयोग गरिरहेका छौं ।
ख) जनसाधारणको नेतृत्व गर्ने आधारभूत तरिका आग्रह हो, अवश्य पनि हुकुम होइन । आवश्यक पर्न जाँदा र बहुमतको सहमति तथा अल्पमतको असहमति भएका अवस्थाहरुमा मात्र हामीले अल्पमतलाई बहुमतको फैसलालाई कार्यान्वित गर्न वाध्य पार्न सक्नेछौं ।
ग) जनतालाई नेतृत्व दिनमा र तिनीहरुलाई स्थायी बनाउनमा नेताहरु आफैले दृष्टान्तयोग्य भूमिका खेल्नुपर्छ ।
घ) आवश्यक परेमा नेताहरुले आफूलाई गरेको अपमानलाई वेवास्ता गर्नुपर्छ ।
ङ) नेताहरुले कहिल्यै पनि आफूले खेल्ने भूमिका वा आफूले पार्ने प्रभावको कम मूल्यांकन गर्नु हुँदैन, र विवेकपूर्ण तथा होशियारीपूर्ण ढंगबाट काम गर्नुपर्छ ।

७. नेतृत्व–कला
लेनिन र स्टालिनद्वारा व्याख्या गरिएको नेतृत्व–कला अनुसार, नेताहरु आन्दोलनभन्दा धेरै अघि दगुर्नु हुन्न, र आन्दोलनभन्दा पछि पनि पर्नुहुन्न । बरु उनीहरुले मुख्यचाहिं अभिभारालाई बुझेर आन्दोलनलाई अघिल्तिर धकेल्नुपर्छ ।
कामरेड माओ चतुङद्वारा व्याख्या गरिएको नेतृत्व–कला अनुसार, नेताहरुले सर्वोपरी परिस्थितिलाई ध्यानमा राख्नुपर्छ, बहुसंख्याको दृष्टिबाट सोच्नुपर्छ र हाम्रा मित्रहरुसँग मिलेर काम गर्नुपर्छ ।

८. कार्य–तरिका
क) संघर्षको क्रममा सैद्धान्तिक धारणा र मतहरुलाई जाँच्नु । ख) ठोस कामको सिलसिलामा नीतिहरुको निर्धारण र समीक्षा गर्नु । ग) क्रान्तिकारी भावनाले काममा सुधार ल्याउनु । घ) प्रजातन्त्रको संवद्र्धन गर्नु र आलोचना तथा प्रत्यालोचनालाई प्रोत्साहित गर्नु । र ङ) मुख्यरुपले आग्रहलाई प्रयोग गर्नु र प्रशासनिक आदेशलाई प्रयोग नगर्नु । संकटकालीन स्थितिमा मात्र आदेशको सहारा लिनू ।

९. कार्य–शैली
क) लेनिनको कार्य–शैलीमा तलका कुराहरु छन्:
रसियाली क्रान्तिकारी जोश, र अमेरिकाली कार्यक्षमता ।
ख) कमरेड माओ चतुङको कार्यशैलीमा तलका कुराहरु छन्:
चिनियाँ जनताको विनम्रता र यथार्थवाद; चिनियाँ किसानको सरलपन र उद्यमशिलता; बुद्धिजीवीहरुको अध्ययन तथा गहन चिन्तनप्रतिको प्रेम; क्रान्तिकारी सिपाहीको लचिलोपन र ठण्डा दिमागले सोच्ने प्रवृत्ति; र वोल्सेविकको दृढसंकल्प र निडरता ।
ग) दैनिक काममा देखापर्ने सबैखालको अवसरवादको विरोध गर । अहिले हामीले खास गरेर लापरवाही, व्यर्थको बकवाद, हठीपन, औपचारिकतावाद, रुटिनवादका विरुद्ध र पार्टी तथा सेनाका राम्रा परम्पराहरुलाई नष्ट पार्ने सारा कामको विरुद्ध जुध्नुपर्छ ।

फुटनोटः
८चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको दक्षिणी व्यूरोका कार्यकर्ताहरुसित वार्ताको रुपरेखा । पहिले यसको शिर्षक थियो, “नेतृत्व र कामको समीक्षाबारे वार्ताको रुपरेखा” ।
८होङ्यान –नं. १३ होङयानश्यू, हुआलङचियाओ, चोङ्चिङको काँठमा) चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको दक्षिणी व्यूरो र अठारौं ग्रुप सेना दुवैका चोङचिङ कार्यालयहरु रहेको ठाउँ थियो । नं. ५० चेङशियान केन्द्रीय कमिटीको दक्षिणी व्यूरो र खास चोङचिङभित्रको अठारौं ग्रुप सेनाका चोङचिङ कार्यालयहरु रहेको ठाउँ थियो ।
८ जे.बी. स्टालिन, “पार्टी–कार्यमा भएका त्रुटीहरु र ट्राटस्कीपन्थी तथा अन्य धोखेवाजहरुलाई खतम पार्ने उपायहरु” अंग्रेजी संस्करण, सोभियत संघमा विदेशी मजदुरहरुको प्रकाशन संस्था, मास्को, १९३७, पृष्ठ ३९ ।

(अनु. कृष्णदास श्रेष्ठ)

Leave A Reply

Your email address will not be published.