चैत १५ देखि मेलम्चीको पानी काठमाडौंका धारामा

562

नेपाल सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको अनलाइन खबरले लेखेको छ।

अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ। शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ। सुरुङ भरिन ३/४ दिन लाग्ने आयोजना प्रमुख तिरेश खत्री बताउनुहुन्छ। सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ। पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताउनुभयो। चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ।

तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ।‘यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुन्छ’खत्रीले भन्नुभयो,’३ वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ, ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्ने अवस्था छ।’अहिलेसम्म सुख्खा मैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ।

अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ। नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ। खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ। वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने उहाँले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.