त्रिदेशीय फुटबल कपको उपाधि नेपाललाई,डिफेन्डर विराज महर्जनले लिए सन्यास

388

त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो ।खेलको १८ औँ मिनेटमा नेपालका लागि लागि सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाएको थियो । दोस्रो हाफपछि खेलको ८३ औँ मिनेटमा बंगलादेशले गोल फर्कायो।

नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जनले राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् ।आज सम्पन्न थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलसँगै विराजले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका हुन् । बंगलादेशविरुद्धको खेलको ८९ औं मिनेटमा विराज नेपाली टोलीको कप्तानी सम्हालै मैदान उत्रेका थिए । प्रतियोगितामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि आफ्नो पक्षमा राखेको छ । यस अर्थमा विराजको विदाइ सुखद र यादगार रहन सफल भएको छ ।

सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका विराजले निरन्तर १३ वर्ष राष्ट्रिय टिमका लागि खेलेका छन् । उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् । उनले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले ९ वर्ष थ्रीस्टारबाट खेले । २०१६ मा मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका विराजले सन् २०१९ मा मच्छिन्द्र क्लबबाट खेले । विराजले तीन वटै क्लबबाट लिग जित्ने दुर्लभ अवसर पाएका छन् ।

१३ वर्षे खेल जीवनमा विराजले राष्ट्रिय टिमबाट ७६ खेल खेलेका छन् । अनिल गुरुङले सन्यास लिएपछि विराजले नेपाली टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, १२ औँ साग र सोलिडारिटी कप जितेका छन् ।विराजको विदाइमा उनका प्रशंसक र खेल पत्रकारहरुले नेपाली फुटबल क्षेत्रमा उनले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका छन् । खेलाडीहरुले विराजलाई काँधमा बोकेर मैदान परिक्रामा गराएका थिए ।

Leave A Reply

Your email address will not be published.