तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण
- फरक दृष्टि / बिहीबार, चैत २, २०७९ १९:४७
- फरक दृष्टि / बिहीबार, चैत २, २०७९ १९:४७
धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा उनको लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, 'नेपाली भाषा बचाऔँ अभियान' का अभियन्ता डा बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी ।सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास खतिवडाको विशेष अतिथिका रूपमा रहेका थिए ।
विमोचित कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि तथा विशेष अतिथि वक्ताहरूले प्रस्तुत कृति “जिन्दगीका पानाहरू” मानव जीवनमा आइपर्ने थरी थरीका कथा/व्यथा, हाँसो/रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह/अवरोह आदिले भरिपूर्ण रहेको बताए। यो कृति उनको जीवनका कथा/व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको उनिहरूले उल्लेख गरे ।
२६ खण्ड र ६४ उपखण्ड बिभाजित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू' असाध्यै सरल भईकन सरस भाषाशैलीमा लेखिएको यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने, वर्ण-विन्यास विज्ञानलाई पालना गर्दै लेखिएको यस पुस्तकले प्रत्येक पाठकलाई प्रसन्न पार्ने धारणा समेत उनिहरूले व्यक्त गरे । साथै आफ्नो जन्मथलो र वरपरका गाउँहरुमा समेत शिक्षाको जग बसाल्न योगदान पुर्याउनु हुने लेखकले धादिङको नलाङ, सांकोसदेखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतारेका उनिसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिष-शास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूले व्यक्त गरे ।
“जिन्दगीका पानाहरू” को लोकार्पण समारोहको सर्जकका पुत्रहरु टीकानाथ अर्यालले कार्यक्रम संचालन,दामोदर अर्यालले आमन्त्रित पाहुनालाई मन्तव्यद्वारा स्वागत र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । “जिन्दगीका पानाहरू” को लोकार्पण समारोहमा विभिन्न साहित्यकार, समाजसेवी,बिदेशी पाहुना,आफन्तजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।