थप समाचार मेनु

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

- / मंगलबार, माघ १०, २०७९ ०९:००

पाल्पा । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । 

तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । 

कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उनले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँजसो बेच्छिन् । बन्दा प्रतिकिलो रु ३०, काउली प्रतिकिलो रु ६० मा बिक्री भइरहेको उनले बताइन् ।

“घरवरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनले भनिन्, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।” 

घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहरेका छन् । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् । 

उनी भन्छिन्, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन ।”

आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन् । तरकारी बिक्रीवापत वार्षिकरूपमा खर्च कटाएर करिब दुई लाख आम्दानी गर्छिन् ।

कुन्तादेवी गैरेले आफैँले घरवरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउछिन् । उनले बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गर्छिन् । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको गैरेले बताइन् । “पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ”, उनले भनिन् ।

यहाँका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् । 

घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउछिन्। उनलाई दुई वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ । करिब तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएको खनालले बताइन् । 

खेतबारीमा लगाएको काउली, बन्दा र आलुखेतीको स्याहारसुसारमा यतिबेला गोमा पोखरेलको पनि समय बित्ने गरेको छ । सात वर्षदेखि तरकारी खेतीमा तल्लिन रहेएकी पोखरेल आफूलाई कृषि समूहमा आबद्ध भएपछि तरकारी लगाउने प्रेरणा मिलेको बताउछिन् । सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ । आफैँले घरका खेतबारीमा तरकारी लगाउन थालेपछि बाहिर तरकारी किन्ने पैसा बचतमात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई धेरै फाइदा गरेको सावित्रा गैरेको अनुभव छ । 

“साढे दुई रोपनी जग्गामा लगाएको तरकारीले मेहेनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पु¥याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ”, उनले भनिन् । 

रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवद्र्धन गर्दै समूह, सहकारीमार्फत बीउबिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएकाले आयआर्जन गर्ने गरी कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । 

पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरु पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सम्बन्धित समाचार

रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास

- / मंगलबार, माघ १७, २०७९

रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ ।  रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । 

यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगे

रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ ।  रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । 

यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो । सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दाबी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्तीमगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन् ।

समितिले विवादित क्षेत्रको अध्ययन गरी छिटोभन्दा छिटो विवाद समाधान गर्ने रोल्पा नगरपालिकाका उपप्रमुख आचार्यले जानकारी दिए । विवाद समाधान नहुँदा ती क्षेत्रहरू विकासमा पनि पछि पर्ने भएकाले छिटो विवाद समाधान गर्छौँ सीमा विवाद समाधान समितिका सदस्यसमेत रहेकी उपप्रमुख आचार्यले भनिन् ।

धार्मिक क्षेत्र जलजलालाई पनि जिल्लाका तीन स्थानीय तह रोल्पा नगरपालिका, सुनछहरी  र थवाङ गाउँपालिकाले आफ्नो दाबी गर्दै आउँदा समय–समयमा विवाद देखिने गरेको छ ।

Read More

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

- / मंगलबार, माघ १७, २०७९

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प  छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प  छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको स्वीकृति लिएको जजीरा एयरलाइन्सले अहिले काठमाडौँबाट नै आफ्नो उडान गरिरहेको छ । भैरहवाबाट उड्न टिकट काटेका यात्रुलाई जजीराले बसमार्फत काठमाडौँ बोलाएर उतैबाट उडान गरिरहेको छ । 

विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्र निकै उत्साही देखिएका थिए । जसको फलस्वरूप यहाँ अर्बौको लगानीमा होटल तथा पर्यटनसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरिएका छन् । विमानस्थल सञ्चालनमा आएको अन्योलका कारण यहाँका निजी क्षेत्र पनि निराश छन् । विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रबाट जुन प्रकारको पहल हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । 

विमानस्थल सञ्चालनसँग जोडिएको सुविधा यहाँ नहुँदा पनि हवाई कम्पनीले उडानमा चासो दिएका छैनन् । भैरहवामा श्रम कार्यालय खुले पनि यसमा सहयोग गर्ने मेनपावर, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायत सुविधा नहुँदा यात्रु काठमाडौँबाट नै उडान भर्न रुचाउने गरेका छन् । यी सुविधा ल्याउन यहाँका निजी क्षेत्रमा कुनै चासो नै छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले निजी क्षेत्रले पहल गरे पनि त्यो पर्याप्त भने नरहेको बताए । “यात्रुलाई रातिमा विमानस्थलसम्म आउने यातायातको साधन छैन, कहिले ट्रकमा त कहिले पैदल नै आउनु परिरहेको छ”, झाले भने, “विदेश जाने यात्रुले सकेसम्म सस्तोमा सुविधा खोजिरहेको हुन्छ, यसतर्फ पनि निजी क्षेत्रको ध्यान जानुपर्छ ।”

विमानस्थलमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा सहज हुने खालका पर्यटकीय गतिविधि बढाउनुपर्ने, चार्टर उडानहरूलाई भैरहवाबाट गर्न पहल गर्ने खालका क्रियाकलाप गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।
निजी क्षेत्रको छाता सङ्गठनले यसको सञ्चालनमा निजी क्षेत्रले पहल गरिरहेको दाबी गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाका अध्यक्ष भीष्म न्यौपाने विमानस्थल सञ्चालनमा भारतको भूमिका अहम रहेको कारण यसलाई सरकारबाट नै पहल गर्नुपर्ने बताउँछन् । उनले यसका लागि नेपालका सम्बन्धित निकायमा पहल गरिरहेको दाबी गरे । “तत्कालै नयाँ सरकार गठन भएको छ, प्रधानमन्त्रीले भारत भ्रमण गर्ने क्रममा विमानस्थल सञ्चालनमा सहजता ल्याइदिन निजी क्षेत्रले प्रधानमन्त्रीलाई लबिङ गरिरहेको छ”, न्यौपानेले भने, “यही विषयलाई लिएर प्रधानमन्त्री र पर्यटनमन्त्री समक्ष डेलिगेशन जाने तयारी पनि गरिरहेका छौँ ।”

नेपाल सरकारले जजीराको भर मात्र नपरी नेपाल एयरलाइन्सलाई यहाँबाट उडाउनुपर्ने न्यौपानेको तर्क रहेको छ । उनले विमानस्थल सञ्चालनलाई नै लिएर निजी क्षेत्रले यहाँ अर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताउँदै यसबाट जोगिन पनि विमानस्थल सञ्चालन गर्न आफूहरूको निरन्तर प्रयास रहने जिकिर गरे ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीका निर्वतमान अध्यक्ष नारायणप्रसाद भण्डारी विमानस्थल सञ्चालनका लागि सबै सङ्घसङ्गठनले साझा अवधारण बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले यसका लागि आफूले पनि पहल थालिसकेको बताए । यहाँका निजी क्षेत्र, ट्राभल एजेन्सी एवं पर्यटनसँग सरोकार राख्ने निकायको सहकार्यले मात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताए ।

हाल अन्तर्राष्ट्रिय उडान गरिरहेका जजीरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्नो उडान रोकेका छन् भने आन्तरिक उडान नियमित हुन सकिरहेको छैन । जजीरा एयरलाइन्सले पुस ३ गतेदेखि र हिमालय एयरलाइन्सले मङ्सिर २९ गतेदेखि उडान बन्द गरेका छन् । जजीराले माघ २७ गतेसम्मको समय थप गरेको विमानस्थलका प्रवक्ता झाले जानकारी दिए ।

जजीराले डिसेम्बरसम्म मात्र उडान रोकेको जनाएको र अहिलेसम्म सञ्चालनमा नआएकाले जजीराले यो सूची अझै लम्ब्याउन सक्ने सम्भावना रहेको छ । सम्भवतः फागुनको ७ गतेदेखि जजीराले पुनः भैरहवाबाट नै उडान गर्ने सम्भावना रहेको विमानस्थल स्रोतको भनाइ छ ।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ । 

भैरहवा विमानस्थलमा हाल अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण शुल्क, विशान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा कात्तिक १५ गतेदेखि लागू हुने गरी ५० प्रतिशत छुट दिइरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यति सङ्ख्यामै अवतरण भएका छन् । यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका र १८ हजार २५ यात्रु गएको गरी जम्मा ३१ हजार छ सय १८ यात्रुले विमानस्थल प्रयोग गरेको विमानस्थलका प्रवक्ता झाले बताए ।

Read More