थप समाचार मेनु

गगनको प्रधानमन्त्री बन्ने सपना अधुरो, रवि लामिछानेलाई प्रचण्डले फ्याक्न सक्छन् प्रधानमन्त्रीको चिठ्ठा!

- दिवश भण्डारी / सोमबार, पौष ४, २०७९ २२:३५

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएर यतिबेला सरकार बनाउने रस्साकस्सी चलिरहेको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र त्यसपछिको दोस्रो ठूलो दल नेकपा एमाले दुवै आफ्नो सरकार बनाउने दाउमा देखिन्छन् ।

प्रतिनिधिसभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान इच्छुक देखिएको संकेत गरेपनि ठूला राजनीतिक दलका शीर्ष नेताले भने ‘नयाँ बाच्छो’सँग लातारिएर मेलो लाग्नुपर्ने डरले सरकारमा सम्मिलित गर्न त परै जा‌‌ओस् औपचारिक रुपमा वार्तासम्म गर्ने चेष्टा गरेका थिएनन् । तर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका सभापति लामिछानेले भेटिसकेका छन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाटको चाँजोपाँजो मिलाएर संसदीय राजनीतिको नयाँ खेलाडी बन्ने तरखरमा अघि बढीसकेका छन् ।

तर संसदीय अभ्यासमा सत्ता स्वार्थको लय मिलाएर दशकौँदेखि राज्यकोषमा रजाइँ गरेका कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता दललाई भने रवि र रविको रास्वपा सरकारमा लैजाँदा र नलैजाँदा दुवै स्थितिमा टाउको दुखाइको विषय बन्ने निश्चित देखिन्छ । सरकारमा सम्मिलित गर्दा राम्रो काम गरेर जनताको मन जित्ने र सम्मिलित नगराउँदा संसदभित्र तीनै ठूला नेताको कालाकर्तुतको पोल खोलेर बबन्डर गर्ने त होइनन् भन्ने डरले मुटुमा ढ्यांग्रो ठोकेको छ । प्रचलित उखान ‘नखाउँ कर्कली सासु जर्कली, खाउँ कर्कली पेटै फर्कली’ भन्ने स्थिति ठूला भनिने दलका लागि रविको रास्वपा बन्ने देखिन्छ ।

उता, प्रधानमन्त्रीको दावी गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर राजनैतिक पात्रको उपनाम, जो कहिले एमाले त कहिले कांग्रेससँग मिलेर चुनाव लड्ने र सत्ताको भर्‍याङ्ग चढीहाल्ने उनको स्वभाव जगजाहेर छ । प्रचण्डलाई कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री मान्न तयार नदेखिएपछि र एमाले नेता विष्णु पौडेलले घरमै आएर प्रधानमन्त्रीको ललिपप देखाएपछि एमाले र रास्वपासहितको सरकार माओवादीको नेतृत्वमा निर्माण गर्ने सपना बुनेर प्रचण्डका दूतहरु रविको पार्टीसँग वार्ता गरिरहेका छन् । वार्ता र छलफल भएकोबारे प्रचण्डले मुख खोलिसकेका छन् ।

यदी, एमाले माओवादी र रास्वपासहित अन्य साना राजनीतिक दलको आलोपालो नेतृत्व गर्ने सरकार बन्यो भने रास्वपा सभापति रवि लामिछानेले पनि पाँच वर्षभित्र प्रधानमन्त्रीको च्याखे दाउ मार्न सक्छन् । त्यसो हुँदा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको १० सिटमा एक वर्ष प्रधानमत्री बन्ने सपना देखेका समाजवादी अध्यक्ष माधवकुमार नेपाल मुर्छा पर्ने छन् त सात पटक प्रधानमन्त्री बन्ने भनेर ज्योतिषले भविष्यवाणी गरेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको ज्योतिष पनि फ्लप जाने छ । अर्कोतर्फ युवा प्रधामन्त्रीको हल्ला पिटेर चुनाव जितेका महामन्त्री गगन थापाको सपना युवा प्रधानमन्त्री आफू नभई रवि लामिछाने बनेर पूरा नगर्लान् भन्न सकिने अवस्था छैन ।

किनकी, प्रचण्ड नै त्यो पात्र हुन् जसले नेपाली राजनीतिको चाबी आफ्नो हातमा लिएर अरुलाई प्रधानमन्त्री बनाउन उद्यत हुन्छन् । यसपटक प्रचण्डले आफूसहित नयाँ पात्र रवि लामिछानेलाई पनि आलोपालो प्रधानमन्त्री बनाउने हल्लाले राजनीतिक बजार तातेको छ ।

सम्बन्धित समाचार

सम्भव छ सफा नेपाल

- / शनिबार, माघ ७, २०७९

खेम शर्मा, रासस

काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि बढ्नुहुनेछ । ‘मर्निङ वाक’बाट फर्केपछि सफा बाथरुममा नुहाई आफ्नो काम गर्ने स्थानमा प

खेम शर्मा, रासस

काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि बढ्नुहुनेछ । ‘मर्निङ वाक’बाट फर्केपछि सफा बाथरुममा नुहाई आफ्नो काम गर्ने स्थानमा पुग्दा घर जत्तिकै सफा पाउनुहुनेछ र सफा विचारले आफ्नो सुन्दर जिम्मेवारी पूरा गर्नुहुनेछ । हरेक साँझ आरामको निद्रा पाउनुहुनेछ तपाइँ आफैँले बिहान ठिक हालतमा राखेको बिस्तारामा । तपाइँ हरेक राति सफा र सकारात्मक विचार लिएर सुत्नुहुनेछ र मिठो निद्रा निदाउनुहुनेछ । अनि बिहानको दैनिकी पनि माथिजस्तै सुरु हुनेछ ।  

नेपालका हिमाल पहाड तराईका हरेक बस्तीमा सफा र ‘अग्र्यानिक’ भोजनालय हुनेछन् । त्यहाँ सफा र मिठो खाना खान पाइनेछ । सेफहरुले पाहुनालाई सफा भान्सा देखाउनेछन् (विदेशतिर हिजोआज ‘ओपन किचेन’ भन्ने गरिएको) र मिठो खाना पस्कनेछन् । सफा ठाउँमा बसेर मिठो खाना खाने पाहुनाको मिठो सपना पनि पूरा हुनेछ । यही हो हाम्रो स्वच्छ नेपाल, जहाँ विद्यालयका छात्रछात्रा, कार्यालयका महिला कर्मचारी र आफ्नो काममा हिँडेका बटुवा महिला सफा शौचालयमा शौच गर्न पाउने भएकाले घरबाट पर्याप्त पानी पिएर यात्रामा निस्कनेछन् ।

गुडिरहेको गाडीबाट कुनै यात्रुले फोहर जथाभावी फाल्ने छैनन् । सार्वजनिक स्थानमा अनिवार्य फोहर सङ्कलन गर्ने टोकरी (बिन) हुनेछन् र ती नियमित तालिकाअनुसार खाली र सफा गरिएको हुनेछ । सङ्कलित फोहर खेर फालिने छैन । सबै घर, कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, कलकारखानाको फोहर बस्तीभन्दा अलि टाढा कुहिने र नकुहिने गरी अलगअलग टोकरीमा छुट्याएर राखिने छ । कुहिने फोहरले मल र ऊर्जा उत्पादन गरी गाउँघर मलिलो र उज्यालो बनाइनेछ भने नकुहिने वस्तुको उचित सदुपयोग गरी पुनःप्रयोग गर्न मिल्ने बनाइनेछ । 

देश जोड्ने लामा, छोटा राजमार्गका समुचित दुरीमा सफा शौचालयहरु हुनेछन् । एउटा गाउँसहरको फोहर अर्को गाउँसहर बोकेर लैजानुपर्ने छैन । भवन, नदी, खोलानाला, करिडोर सबै सफा, सुन्दर र प्राकृतिक बासनादार हुनेछन् । श्रदालुहरुका लागि मठ, मन्दिर, चैत्य गुम्बा, चर्च सबै उनीहरुका मन जस्तै सफासफा हुनेछन् । अनि हामी भन्नेछौँ– यही हो हाम्रो स्वच्छ सफा नेपाल, हाम्रो देश । 

हरेक धाराको पानी हिमालको जस्तै निस्फिक्री पिउन मिल्नेगरी सफा हुनेछ । हरेक हिमाल उक्लँदा र ओर्लंदा हामीले मानव निर्मित फोहरका भारी निर्दोश हिमाललाई बोकाउने छैनौँ । हाम्रो देशमा जन्म लिने हरेक शिशुले सफा र स्वस्थ सासको झोक्का लिनेछन् । सफा हुनेछ हाम्रो धर्ती । हाम्रो माटो र मातृभूमि । सरसफाइका लागि हामीसँग व्यावहारिक कानुन र नियम हुनेछन् र ती नियमहरु हामी कसैलाई दण्डित गर्न लागू हुने छैनन् । किनभने विना दण्ड  जरिबाना नै सफा नियम सफा नियतमा बद्लिनेछन् र हाम्रो समाज सदा सफा रहनेछ । त्यसैले सम्भव हुनेछ सफा समाज अनि सफा नेपाल ।

 माथि व्यक्त विचार कल्पना र भावनाका उपज होइनन् । नत यी कुनै साहित्यिक रचना नै हुन् । यी पूर्णरुपले सम्भव विचार मात्र हुन् । किनभने हामीले ‘सफा नेपाल सम्भव छ’ भनेर सोच्नुको कारण पनि यही हो कि यो निसन्देह सम्भव छ । यो आधुनिक यान्त्रिक विज्ञानको जटिल अनुसन्धान नभएर हाम्रो नियमित जीवन शैलीलाई नियमन गरेर हाम्रो स्वस्थ्य मन र हृदयले खोजेको र गर्नसक्ने काम हो, सुन्दरता कल्पना मात्रै होइन । 

एउटा बहस गरौँ– नेपालको गाउँदेखि सहरसम्म व्याप्त फोहरमैलासहितका समस्यासँगै समाधानका सम्भावना खोज्ने के हुन सक्छन् ? यसका सम्भव र सकारात्मक उपायहरु किन अवलम्बन नगर्ने ? यो बहसले एकल प्रयासभन्दा माथि उठ्दै सामूहिकरुपमा अठोट गर्ने अवस्था सिर्जना गर्नेछ । यदि यसो भयो भने विश्वका उत्कृष्ट सफा सहर र देशमा नेपाललाई समाहित गर्न किन धेरै समय पनि लाग्नेछैन । 

फोहर व्यवस्थापन र फोहर पानी शुद्धीकरणसँगै पर्यावरणीय कामहरूका आधारमा सफा देशको सूचीकरण हुने गर्छ । सन् २०२३ लाग्नेबित्तिकैको ग्लोबल सफा इन्डेक्सअनुसार विश्वमा स्विट्जरल्याण्ड सफा देशको अग्रस्थानमा छ भने नेपाल ‘टप १००’ देश भित्रको सूचीमा पनि छैन । जबकि कुनैबेला विश्वकै बढी फोहर भएका देशको सूचीमा रहेर चिनिएका कतिपय देशहरूले एक दशककै प्रयासमा आफ्नो देशलाइ सफा देशको सूचीमा राख्न सफल भएका छन् । सफा सूचीको ४२ औँ स्थानमा रहेको कोलम्बिया र ७० औँ स्थानमा रहेका श्रीलङ्काबाट नेपालले धेरै कुरा सिक्न सक्छ । यी देशहरूले पछिल्ला २० वर्षमा फोहर व्यवस्थापन र पानी शुद्धीकरणमा सुरक्षा क्षेत्रमा जति नै लगानी गरेको पाइन्छ ।
सफा नेपाल सम्भव बनाउनका लागि हामी नेपालीमा रहेको बेवास्ता, लापर्वाही तथा समस्याकैबीचमा सम्झौता गरेर बाँच्ने स्वभाव भने परिवर्तन गर्नैपर्छ । यो परिवर्तन सरकारमा बस्नेदेखि प्रतिपक्ष र तटस्थ बस्नेसम्म सबैमा समान ढङ्गले आउनु आवश्यक छन् । नेपाल प्रकृतिले दिएका अनुपम सम्पदाहरुले भरिपूर्ण देश हो । विश्वका मानिस नेपाललाई प्रकृतिको स्वर्ग भन्छन् ।

हामीसँग विश्वमा अरु कसैसँग नरहेको हावा, पानी र वनौषधिहरु छन् । हाम्रा हिमालमा स्वस्थ, सफा र स्वच्छ हावापानी छ । अधिकांश नदीहरु हिमालबाटै उत्पत्ति भएर बगेका छन् । पर्यावरणका यति धनी हामी सरसफाइका मापदण्डमा विश्वसामु सफा परिचयको पर्याय बन्न भने सकेका छैनौँ । संसारकै सफा देशको सूचकाङकको सर्वाधिक अग्रस्थानमा उभिन नसक्नु पक्कै पनि खुसीको कुरा होइन । 

आफ्नो कथा आफ्नै अनुभव 

‘सम्भव छ सफा नेपाल’ अभियानको सुरूआत हामी आफ्नै अनुभवबाट गर्न चाहान्छौँ । यहाँहरू धेरैलाई थाहा छ या बिर्सिनुभयो केही वर्षअघि अस्ट्रेलियाबाट नेपाल फर्कंदा हामीले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा गरेको सफाइ अभियानको चौतर्फी प्रशंसा भएको थियो । त्यो सफाइबाट हामीले सफाई कस्तो हुन्छ भन्ने एउटा नमुना नै प्रस्तुत गरेका थियौँ । अन्तर्राष्ट्रिय विमानस्थल विश्वका नागरिक नेपाल आउने र फर्किने प्रवेशद्वार भएकाले हामीले सबैसामु सफाइको नमुना पेस गर्न पनि विमानस्थल छानेका थियौँ । पहिलो पटक नेपाल अएको कोही विदेशीले नेपाल प्रवेश गर्नासाथ उसलाई हाम्रो देशप्रतिको दृष्टिकोण राम्रो बन्न सकोस् भनेर पनि हामीले त्यो काम गरेका थियौँ । 

त्यो हाम्रो कामबाट हामीले प्रशंसा पाएपछि अर्थात् सबैले राम्रो मानिदिनुभएपछि हामीले नेपालका सबै सम्माननीयसहित तीन सयभन्दा बढी राष्ट्रिय व्यक्तित्वको हस्ताक्षर सङ्कलन गरी तत्कालीन प्रधानमन्त्रीलाई बुझाएपछि नेपाल सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गरेको थियो । त्यसपछि नेपालको पर्यटन मन्त्रालयले सन् २०२० मा नेपालका दुई दर्जन विमानस्थलको सरसफाइको अनुगमनको जिम्मेवारी दियो र त्यो पनि हामीले नै सफलतापूर्वक सम्पन गरेका थियौँ । मलाई लाग्छ देशका विभिन्न विमानस्थलमा एक हदसम्मको सफाइको मापदण्ड हामीले स्थापित गराएका थियौँ । तर विमानस्थल प्रशासनहरुले त्यो गुणस्तरलाई कायम राख्न भने नसकेका देखिएकै छ ।  

सरसफाइको अनुगमनपछि नेपालमा सरसफाइको खास समस्याको सम्बोधन गर्न २०२२ मा नेपाल सरकार पर्यटन मन्त्रालयको आयोजनामा हामीले सफाइकर्मीहरुका लागि आफ्नो पेसाप्रति गौरव गर्ने र सीपको मूल्याङ्कन हुनेगरी पहिलो पटक तालिम सञ्चालन गर्यौं । हाम्रो यो अभियानबाट हाल एक हजारभन्दा बढी मजदुर तालिमप्राप्त भइसकेका छन् र उनीहरु आआफ्नो काममा छन् । हामी चाहन्छौँ हरेक वर्ष राष्ट्रपतिले प्रदान गर्ने विभूषणमा अब सफाइकर्मीको पनि सम्मान हुनुपर्छ । सफाइकर्मी आफ्नो पेसाप्रति गौरव गर्न थालेका छन् र उनीहरुसँग यो पेसासँग समबन्धित सीप भएको प्रमाणपत्र छ । यसरी हेर्दा त लाग्छ नेपाली समाजले सफाइकर्मीहरुलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ । हिजोको सफाइकर्मीको परिभाषा आज बदलिएको छ ।    

सम्भव छ समाधान  
सरसफाइको बहस नेपालको चुलोचौकादेखि सर्वोच्च निकायसम्म स्थापित गरिसकेपछि अब सफा नेपाल यसरी सम्भव छ भन्ने कुरातिर लागौँ । नेपाल प्राकृतिकरूपमा सफा र उज्यालो छ तर यहाँका धेरैजसो मानवबस्ती भने फोहर र दुर्गन्धित छन् । हामीले स्वीकार गर्नैपर्ने तीतो सत्य हो यो । नेपाललाई अझै पनि सुनको चराको उपमाले चिनाउँदा कुनै गल्ती हुदैन । यहाँका प्राकृतिक वैभव र धर्म संस्कृतिभित्रका रैथाने भाषा, साहित्य एवं पहिचान, अतिथि सत्कार आफैँमा दुर्लभ सौन्दर्य हुन् । तर खानपानदेखि बसाइ व्यवस्थापनसम्मका क्षेत्रमा हामीले सिक्न नपर्ने कुरा विदेशी राष्ट्रहरूको सिको गर्नाले र सिक्नपर्ने कुरा नसिक्नाले हामीले अव्यवस्था र फोहर मात्र निम्त्याएनौँ उल्टै आफ्नोपनबाट नै हामी विमुख हुँदैछौँ । 

हाम्रो देशमा अझै पनि नीति निर्माणको तहमा हेर्ने हो भने सरसफाइलाई पहिलो प्राथमिकतामा राखेर नीति बन्दैनन् । नत यो प्राथमिकताबाट योजना र कार्यक्रमहरु नै बन्छन् । हाम्रो देशको राजधानी, अन्य सहर वा गाउँ होस् वा गल्ली वा इलाका होस्, जहाँ पनि फोहर जथाभावी फालेको पाइन्छ । हाम्रो देशलाई विकासको सूचकाङ्कमा माथि उठाउन नदिने धेरै तत्व र वस्तुहरुमध्ये फोहरको अव्यवस्था पनि एक हो भन्दा फरक पर्दैन । किनभने फोहरकै कारण हामीकहाँ आएका विश्वका महङ्गा र महत्वपूर्ण पाहुनाहरु दोहोर्याएर आउन नरुचाएको पनि हुनसक्छ । के यसतर्फ हामीले सोचेका छौँ ? के यस्ता विषयमा अनुसन्धान गर्न हामीले फुर्सद र स्रोत निकाल्न सकेका छौँ ? अहँ, छैनौँ ।   

दुःखका साथ भन्नुपर्छ, यहाँ धेरैले धेरै कुरा गरे पनि देशलाई पूर्णतया स्वच्छ बनाउन सफा सपना भयको व्यक्ति अझै भेटिएको छैन । पाँच वर्ष लगातार टिक्न नसकेका हाम्रा दर्जनौँ सरकारले सरसफाइका क्षेत्रमा सामान्य कुरा मात्रै गरेका छन् तर एउटा ठोस काम भने गरेका छैनन् । मलाई लाग्छ आज मैले यसो भन्नु भनेको आरोप नभएर खबरदारी मात्र हो । विगतमा यी विषयमा राष्ट्रियस्तरका योजना नबनेका होइनन् र अभियान नचलेका पनि होइनन । तर यसले निरन्तरता पाएको देखिएन । सहर र बस्तीका हरेक स्थानमा फोहर सङ्कलन गर्ने टोकरी (बिन) राख्ने कुरा गरियो र राखियो पनि । तर त्यो बिनभित्रको फोहर त्यहाँबाट भोलिपल्टै अर्थात् दैनिक हटाउनेबारेमा भने सोचेको देखिएन  । 

आज पनि हाम्रो देशका गाउँमा थोरै घरमा मात्रै शौचालयको सुविधा छ । आज पनि मानिस गाउँघरमा दिसा गर्न खुला स्थलमा बाहिर निस्किने चलन कतैकतै देखिएकै छ । प्लास्टिकका झोला र बोटलहरु गाउँघर, खेतीपातीसम्मै पुगेका छन् । सहरको कुरा गर्ने हो भने पर्याप्त सार्वजनिक शौचालय नै छैनन् । शौचालय भए पनि सफा छैनन्, उल्टै रोग भित्र्याउने किराहरु बग्रेल्ती देखिन्छन् । कलकारखानाबाट निस्कने फोहर, ढल, घरेलु फोहर धेरै छ तर यसको लेखाजोखा नै छैन ।

यस्तो फोहर सडकमा यति धेरैमात्रामा अव्यवस्थित छ कि कतैकतै त हाम्रो देशको सडक नै देखिँदैन, फोहर मात्रै देखिन्छ । त्योभन्दा दुःखको कुरा त यो फोहर हाम्रा पवित्र नदीमा पनि बग्छ । सरकारको अनुहार देखिने सरकारी निकाय वा मन्त्रालय गयौँ भने शौचालय सोध्न पर्दैन, गन्धबाटै भेउ पाउन सकिन्छ । शौचालय दाया कुनामा छ कि बायाँ नाक थाप्दै जाँदा आफैँ भेटिन्छ । 

नेपालमा अर्बौं लगाएर निर्माण भएका भवन उद्घाटन गर्दा थुप्रिएको फोहर अर्को दिनसम्म सफा नभएका उदाहरण पनि धेरै छन् । सत्तामा कसरी पुग्ने भन्ने खेलका समाचारहरु दिनदिनै पढ्न पाइन्छ तर देशको स्वास्थ्य र सभ्यतासँग जोडिएको सरसफाइका बारेमा नेताका एजेन्डा जनताले सुन्न पाएका छैनन् । कतै घोषणापत्रमा सुनेका भए पनि व्यवहारमा देख्न पाएका छैनन् । यस्तो लाग्छ कि नेपालमा सरसफाइ भनेको केही सफाइकर्मीको रोजगारीसँग र केही अभियन्ताको अभियान सँगमात्रै जोडिएको सामान्य विषय मात्र हो । 

देश सफा गर्ने जिम्मा सफाइकर्मीको मात्र हुँदै होइन । सरकारको नीति र आम नागरिकको भूमिका प्रमुख विषय हुन् । यसका लागि हामीले हाम्रो सोच नै परिवर्तन गर्नुपर्छ । सोच परिवर्तन गर्न सही नीतिका साथ एउटा स्पष्ट योजना र पुग्नुपर्ने लक्ष्य निर्धारित हुन आवश्यक छ । नीति निर्माण गर्दा निर्धारण गरिएका मापदण्डअनुसारको परिणाम देखिनुपर्छ । यी नीतिको अभ्यास नै हुन सकेन, कार्यान्वयनको त झन् के कुरा गर्नु ।   


निष्कर्ष : सरसफाइ प्राधिकरण 
सरकार र नागरिकस्तरमा सरसफाइ अभियानहरु उद्देश्य प्राप्त नभएसम्म निरन्तर चलिरहनुपर्छ । त्यसका लागि सरसफाइ मात्रै हेर्ने अधिकार सम्पन्न प्राधिकरण बनाउन आवश्यक छ । उक्त प्राधिकरणले नेपालको सरसफाइको आजसम्मको अवस्थाको मूल्याङ्कन गरेर भविष्यमा नेपालले गर्नुपर्ने स्पष्ट मार्ग चित्र बनाएर लागू गर्नसक्छ । ‘सफा नेपाल सम्भव’ बनाउन यस विषयका विज्ञ, अभियन्ता र जिम्मेवार सरकारी निकायको सहभागिता रहने उक्त प्राधिकरण बन्नु नै अहिलेको महत्वपूर्ण आवश्यकता हो । यो बनाउन ढिला गर्नु पनि हुँदैन । 

द्वन्द्वपछिको समाजमा एकता, शान्ति र स्थिरता कायम गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग बने जस्तै सरसफाइको हिसाबले प्राचीनताबाट आधुनिकतातर्फ गइरहेको नेपाली समाजको सफा मानचित्र निर्माण गर्ने एकमात्र उपाय सरसफाइ प्राधिकरण हो । उक्त प्राधिकरणले माथि देखिएको ‘सफा नेपालको सुन्दर सपना’ पूरा गर्न कम्तीमा निम्न चार काम गर्नेछ ।

स्पस्ट सरसफाइ नीति निर्माण, कार्यान्वयनको ठोस विधि र मूर्त संयन्त्र निर्माण, तत्काल कार्यान्वयन र प्रत्यक्ष तथा परिणाममुखी अनुगमन । यी चार कामकाबारेमा विस्तृत् व्याख्या गर्न हामीले समयमात्र लगानी गर्नुभन्दा पनि योजना निर्माणमा लाग्दा सफा नेपाल सम्भव हुनेछ । यी र यस्तै अन्य एजेण्डाहरुमा बहस त हामी गर्ने नै छौँ । तर सफा जमिनमै उभिएर सफा श्वास फेर्दै बहस गर्न पाए कति जाति हुन्थ्यो होला ?

Read More

के पृथ्वीनारायण शाह दलितका लागि पनि नायक हुन्?

-  हिरा विश्वकर्मा / शुक्रबार, पौष २९, २०७९

देश भन्नु नै के रै’छ र चार किल्लाको माटो !
त्यै माटो नै उस्को मात्रै जो छन् टाठो-बाठो !!
मार्मिक हरफ कलाकार प्रकाश सपूतको ‘पीर’ गीतको अंश हो । देश भन्ने केवल शब्द मात्रै होइन, यो एउटा भावना, प्रेम, कर्म थलो र पहिचान हो । देशसँग केवल भूगोल र राजनैतिक प्रणाली मात्र हुँदैन, योभित्र संस्कार, संस्कृति, परम्परा, कला, संगीत, प्रकृतिलगायत अनेकन् मूर्त र अमूर्त सम्पदाहरू

देश भन्नु नै के रै’छ र चार किल्लाको माटो !
त्यै माटो नै उस्को मात्रै जो छन् टाठो-बाठो !!
मार्मिक हरफ कलाकार प्रकाश सपूतको ‘पीर’ गीतको अंश हो । देश भन्ने केवल शब्द मात्रै होइन, यो एउटा भावना, प्रेम, कर्म थलो र पहिचान हो । देशसँग केवल भूगोल र राजनैतिक प्रणाली मात्र हुँदैन, योभित्र संस्कार, संस्कृति, परम्परा, कला, संगीत, प्रकृतिलगायत अनेकन् मूर्त र अमूर्त सम्पदाहरू हुन्छन् । देश बाहिर अन्य कुनै देशमा गएपछि हामीले गुमाउने भनेको यिनै कुराहरू हुन् ।

अतः देश भन्ने बित्तिकै योसँग अनेकन् भावना र प्रेम जोडिएका हुन्छन् । विदेशमा आफ्नो देशको कुनै व्यक्ति अचानक भेटिंदा आफ्ना परिवारका निकट सदस्य भेटे जस्तै हुन्छ । त्यसैले देशलाई मातृभूमि अर्थात् आफ्नो जन्मभूमि पनि भनिन्छ । रामले त जन्मदिने आमा र जन्मेको ठाउँ ‘स्वर्ग भन्दा ठूलो’ भनेका छन् । त्यसैले आजको हाम्रो देश नेपालका निर्माता पृथ्वीनारायण शाह हुन् । जसले हामीलाई नेपाल र नेपालीको पहिचान दियो, देशमा हुनुपर्ने न्यूनतम सबैथोक दियो, त्यो व्यक्ति सबैका लागि आदरणीय र पूजनीय हुन्छ । त्यसमाथि उनी राजा नै थिए । उनले बनाएका वा गुन लगाएका व्यक्ति तथा समुदायले त उनलाई राष्ट्र निर्माता र यसको नायक मान्नु अत्यन्त स्वाभाविक हो ।

धेरै लामो समयसम्म राजतन्त्र सामन्तवादको प्रतीक थियो र त्यसले बहुसंख्यक समुदायलाई उत्पीडनमा राख्यो । त्यसकारण त्यसको विरोध भयो र त्यसका रखवालाहरू जनभावनाको विपरित जाँदा पदच्यूत हुन पुगे । तर पनि जसले देश बनायो, हामीलाई पहिचान दियो त्यसको महिमा गान हुनुपर्छ भन्ने केही राजनैतिक शक्तिहरू अहिले नेपालमा पुनः सक्रिय भइरहेका छन् ।

अहिलेको अल्पमत तथा विभिन्न टुक्राहरू जोडिएर बन्न लागेको सरकारलाई राष्ट्रिय एकता दिवसको रूपमा त्यो सामन्तवादी विरासतलाई ब्युँताउनुपर्छ भन्ने दबाव र प्रभाव दिइराखिएको छ । के नेपाल देशका निर्माता भनिने पृथ्वीनारायण शाह सबैका लागि नायक थिए, के सबै जना नतमस्तक भएर उनको महिमा गाउनुपर्ने कुनै बाध्यता छ ? देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि सामन्तवादको अवशेषको जयगान गाउनुपर्ने आवश्यकता छ ?

काल माक्र्सले कुनै पनि देशका शासकहरूलाई श्रमिक वर्गको सबैभन्दा ठूलो वर्गदुश्मन मान्छन् । त्यही सिद्धान्तको जगमा टेकेर कम्युनिष्ट क्रान्ति गरिन्छ । नेपालका सबै कम्युनिष्ट घटकहरूले राजतन्त्रलाई त्यसैगरी हेरे र त्यसको अन्त्यका लागि नेतृत्वदायी भूमिका खेले । शासक सबैका वर्गदुश्मन नहुन सक्छन् । तर दलितलाई त सबैखाले शासकहरू वर्गदुश्मन थिए र छन् । यो प्रसंग पृथ्वीनारायण शाहको हकमा पनि लागू हुन्छ ।

पृथ्वीनारायण शाहले पश्चिम नेपालको सानो राज्य गोरखाबाट आफ्नो एकीकरण अभियानको थालनी गर्ने सोच बनाउँदा उनीसँग पर्याप्त रकम थिएन, जसको आधारमा उनले हतियार र प्रविधि जोड्न सकून् । त्यतिबेला तोपगोलाको आविष्कार र प्रचलन भइसकेको थियो, तर उनीसँग ती उपलब्ध थिएनन् । त्यसैको जोहो गर्न उनलाई बनारस जानुपर्ने भयो ।नगरा बजाउने तथा कपडा सिलाइदिने बिसे नगर्चीको घरमा पुगेर उनले आफ्नो समस्या बताए । बिसे नगर्चीले पहिले गोरखामा कति घरधुरी छन् भनी प्रश्न गरे । राजाले भने, ‘६ हजार ।’ नगर्ची घर भित्र पसे र राजालाई एक रुपैयाँ चढाए । ‘एउटा दमाईबाट एक रुपैयाँ राजालाई दिने’ भनी पृथ्वीनारायणले अपमान बोध गरे । नगर्चीले सम्झाए । कुरा बुझेपछि उनले सबै घरधुरीबाट एक एक रुपैयाँ उठाएर ६ हजार चाँदीको मोहर जम्मा पारे । सो सम्पत्तिसहित उनी बनारस गए । युद्ध लड्दा सगोत्रीहरूको पनि हत्या गर्नुपर्ने भएकोले उनले पहिले आफ्नो गोत्र फेरे । त्यसपछि एकजना गोला बारुद बनाउन जान्ने मुस्लिम र एकजना हतियार बनाउन जान्ने लाटो कामीलाई साथैमा ल्याएर हतियार बनाउन लगाए । त्यही हतियारको बलमा उनले एकीकरण अभियान थाले ।

राज्य संचालन र त्यो पनि युद्धमा गुप्तचरीको ठूलो महत्व हुन्छ । यसको सफल संचालन विना युद्ध जित्न असंभव जस्तै हुन्छ । त्यतिबेला गोरखाका मनिराम गाइनेले पृथ्वीनारायण शाहको वीरताको गाथालाई कर्खाको माध्यमबाट जनस्तरमा पुर्‍याए । उनको पक्षमा महत्वपूर्ण सूचनाहरू संकलन गरेर राजालाई सघाए ।
लाटो कामीसँग कामीहरूको एक हूल नै थियो जसलाई उनले हरेक युद्धमोर्चाहरू नजिक आरन बनाउन लगाएर हतियारको अकण्टक आपूर्तिको व्यवस्था मिलाएको भनिन्छ । एउटा आरन र अग्निको कस्तो भूमिका रहन्छ सृजनामा भन्ने सुन्दर वर्णन अहिलेको चर्चित अग्नि महाकाव्यमा डा. नवराज लम्सालले गरेका छन् । ‘बिसे नगर्चीको बयान’ कवितामा श्रवण मुकारुङले बिसे नगर्चीलाई प्रख्यात बनाए जस्तै कामी जातिलाई सिर्जना र विद्रोहको प्रतीकको रूपमा डा. लम्सालले सुन्दर ढंगले उतारेका छन् ।

पृथ्वीनारायण शाहसँग युद्ध मोर्चामा लड्नेहरू उनका ठकुरी वंशका व्यक्ति तथा अन्य क्षत्रीहरू मात्र थिएनन्, त्यसमा मगर र गुरुङहरू पनि प्रशस्तै थिए । नेपालको एकीकरण सकिएपछि उनको भारदारी सभामा शाह, पाँडे, बस्नेत, थापाहरू परे र उनीहरू सबै शासकको रूपमा स्थापित भए । यता गुरुङ र मगरलाई उनले आफ्नो सेनामा उच्च ओहोदामा राखेर पुरस्कृत गरे ।

त्यति मात्र नभई बनारसबाट ल्याएका मुस्लिम कालिगडलाई सेनामा सन्तान दरसन्तानसम्म गोलाबारुद बनाउने काममा स्थायी जागिरको व्यवस्था गरिदिए । ग्यालेक्सी टेलिभिजनले प्रसारण गर्ने युगान्तर कार्यक्रमको एउटा भागमा सेनामा गोला बारुद बनाउने ती मुस्लिम व्यक्तिको पछिल्लो सन्ततिलाई सविस्तार देखाइएको छ । यो दृश्य देखेपछि मैले आफूलाई सघाउने लाटो कामी र उनका सन्तानलाई केही पुरस्कृत गरी सेनामा जागिर दिए कि भनेर सोधखोज गरें, तर त्यसको केही छनक पाउन सकिनँ ।

नेपालका दरबारको इशारामा इतिहास बनाउने र लेख्ने कुनै पनि स्थापित इतिहासकारहरू बिसे नगर्चीको बारेमा केही लेखेको छैन । कताबाट प्रगतिशील साहित्यकार तथा नाटककार भीमनिधि तिवारीले आफ्नो बिसे नगर्ची भन्ने एकांकी नाटकमा यो सबै कुरा लेखे र हामीले उनको बारेमा थाहा पायौं । केही दलित अधिकारकर्मी त्यसमा पनि खासगरी परियार समाजले बिसे नगर्चीको सालिकलाई गोरखाको मुख्य बजार चोकमा राख्न खोज्दा त्यसको विरोध गरियो । धेरै समयसम्म त्यो सालिक अलपत्र पर्‍यो र पछि कुनै एउटा कुनामा स्थापित गरियो ।

मनिराम गाइने र उनका सन्तति त कता हराए कता, कहींकतै त्यसको सोधखोज तथा चर्चा छैन । राज्यले स्थापित गरेको कला, साहित्य तथा संगीतलाई प्रवर्द्धन गर्ने निकायमा यी सारंगीवादकलाई कहिल्यै पनि प्राज्ञको रूपमा स्वीकार गरिएन, उनीहरू बाँच्नकै लागि पनि सधैं भीख माग्नुपर्ने स्थितिमा रहे । नेपालको लोकगीतहरू सारंगी विना अधुरो रहन्छ । त्यसैले रेडियो नेपालले उनीहरूलाई छिटफुट जागिर दियो र अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा सारंगी धुनको माग बढेको हुँदा उनीहरूले केही राहत पाए । तर पनि गाउँमा बस्ने उनीहरू सबैले अझै पनि मगन्ते जीवन बाँचिरहेका छन् ।

यता ज-जसलाई पृथ्वीनारायण शाहले शासकको रूपमा स्थापित गरे उनीहरू सबैले पुरस्कार तथा मौजाको रूपमा जमिनहरू प्राप्त गरी जमिनदार भए । तर पृथ्वीनारायण शाह तथा उनका कुनै पनि सन्ततिले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कुनै पनि दलित समुदायलाई पुरस्कृत गरेको देखिएन । बरु असली हिन्दुस्ताना बनाउने नाउँमा जात व्यवस्था र त्यसभित्रको छुवाछूत, अपमान र घृणालाई संस्थागत गरे । जात व्यवस्थालाई स्थापित गरे । मकवानपुरका सेन राजाका मगराती मगर भारदारहरूको जाति च्यूत गरी सार्की बनाइदिए । कीर्तिपुरको दोस्रो लडाइँमा ज्यान बचाएका अछूत दुअरलाई जात चढाइदिएर पुत्वर बनाइदिए । यसैको गुन तिरेर जात व्यवस्था भनेको एउटा राजनैतिक हतियार पनि हो भन्ने मान्यता स्थापित गरिदिए ।

आजको दिनमा जसलाई शाह वंशले शासक बनायो, मौजा दियो, जमिीन दियो, पुरस्कृत गर्‍यो, ती समुदायले पृथ्वीनारायण शाहलाई नायक मान्ला तर दलितले यस विषयमा गम्भीर भएर सोच्नै पर्दछ ।

Read More