समय बिन्दु
- राधिका कल्पित / आइतबार, पौष २४, २०७९ ११:३३
- राधिका कल्पित / आइतबार, पौष २४, २०७९ ११:३३
समय बिन्दु
अकस्मात दोबाटोमा भेटिई ऊ
न `हाइ´ भन्न सकेँ
न फनक्क मोडिन सकेँ
न नजिक जान सकेँ।
अनिमेष हेरिरहेँ
भरिलो सिउँदो
खिरिलो शरीर
झुकेका नजर
सुकेका अधर !
पहिले झैँ
न मुस्काई ऊ
न जिस्किई
न रन्किई
न फन्किई
न रीस देखाई
न घुर्की लगाई!
तलाउ झैँ शान्त
घाइते झै क्लान्त
न आँखामा आँसु
न ओठमा हाँसो
छि! कति नसुहाएको मौनताको
श्रृङ्गार उसलाई ।
म टोलाईरहेँथे एकतमासको अकर्मण्यतामा
ऊ फटाफट मेरो नजिक आई
मेरो सर्टको गोजीबाट कलम निकाली
मेरो हत्केला चपक्क समातेर पसारी
र फटाफट लेखी...
`रहर थियो मेरो बिहेको कार्डमा
तिम्रो नाम लेख्ने
भाग्यमा रहेनछ
जन्ती लिएर त आउन सकेनौ
तर मलामी आएर
मेरो शोक पुस्तिकामा तिम्रो नाम चढाए है´ ...´
कलम मेरो हातमा थमाएर
फटाफट ओझेल परी
मेरो जून अस्तायो
मेरो मन सुस्तायो..
मृगको पाठो जस्तै चुलबुले ऊ
चलिरहन पर्ने
बोलिरहन पर्ने
मस्किईरहन पर्ने
खै त्यो ताजगी?
खै त्यो चञ्चलता?
खै त्यो देहलता?
ए समय! कति निस्ठुर तँ?
ए मेरो भाग्यविधाता!
मिल्छ भने
मेरो भाग्यमा परेको बचेखुचेको खुसी
तिनलाई नै दे!
भैगो मेरा गुनासा जति फिर्ता लिन्छु सबै
अब रहलपहल रहरहरु
उनैलाइ फिर्ता दे
तर तर..
बिन्ती गर्छु
उनलाइ पहिले जस्तै बनाई दे ।