श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूलाई परिवारलेसमेत वास्ता गर्दैनन् – हरि केसी(भिडियोसहित)

311

हरि केसी जन्मजात दृष्टिविहीन हुन। आँखाको नसा सुकेकोले उपचार हुन नसकेको हरि बताउँछन्। बाग्लुङ जिल्ला मालिका नगरपालिका ५ मा जन्मिएका केसीले पोखरा, काठमाडौंका अस्पतालहरूमा आँखाको जाँच गराइसकेका छन्।

जुन अस्पतालमा गए पनि आँखाको नसा सुकिसकेकाले आँखाको ज्योती फर्किने सम्भावना नरहेको चिकित्सकहरूले उनलाई बताउछन्। हरि घरको कान्छो छोरा हुन्। बाग्लुङ जिल्लाबाट एसएलसी उत्रिर्ण गरेका केसीले पोखराको पृथ्वीनारायण क्याम्पसबाट मानविकी संकायबाट स्नातक तह उत्रिण गरेका छन् । केसी हाल पोखरामा आमासँग बसिरहेका छन्।

श्रवण दृष्टिविहीन हरि केसी पत्रकार जिवन बनिया(दृष्टिविहीन)सँग

प्रकृतिले कुन बेला कसलाई ठग्छ भन्ने कुरा कसैलाई थाहा नभए जस्तै हरिलाई पनि भयो। २०६६ सालमा उनको कानको नसा पनि सुक्यो। अन्तत: केसी श्रवण-दृष्टिविहीन हुन पुगे। आँखा नदेख्दा र कान पनि नसुन्दा सञ्चार गर्न निकै कठिनाई हुने गरेको केसीको अनुभव छ। भिडभाडमा आवाज सुन्न अझ समस्या हुने गरेको हरिले बताए। यात्रा गर्दा सेमिनार गोष्ठीहरूमा आवाज सुन्ने यन्त्र प्रयोग गर्ने गर्दछन्। कहिले धुपको मार्केटिङ, कहिले विभिन्न संघसंस्था र मसाज सेन्टरमा काम गरिसकेका हरिले हाल श्रवण दृष्टिविहीन संघमा सचिवको पदमा बसेर काम गरिरहेका छन्।

श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूलाई सञ्चार गर्न समस्या हुने उनी बताउछन्। उक्त समस्या भएका व्यक्तिहरूलाई परिवारले समेत वास्ता नगरेको केसीको दुखेसो छ। उनीहरूको सशक्तिकरणका लागि आफूहरूले काम गरिरहेको उनले बताए। श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूलाई उनीहरूको प्रकृति हेरेर स्कूलसँग समन्वय गरेर पठनपाठनको लागि सजिलो बनाईरहेको केसीले बताए । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा पनि त्यस्ता व्यक्तिहरूलाई शिक्षामुलक तालिमहरू फोनबाट सञ्चालन गरेको केसीले भने। भौगोलिक विकटताका कारण सबै ठाउँमा चाहेर पनि जान नसकिरहेको समेत उनको दुखेसो छ।

श्रवण दृष्टिविहीन हरि केसी

श्रवण दृष्टिविहीनको प्रकार जटिल हुने भन्दै सरोकारवालाहरूलाई सचेत भइदिन केसी आग्रह गर्छन्। अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकारका लागि आफू सदैव लडिरहने केसीले बताए। यसै सन्दर्भमा फरक दृष्टिका लागि जिवन बनियाले श्रवण दृष्टिसंघका सचिव हरि केसीसँग कुराकानी गरेका छन्।

Leave A Reply

Your email address will not be published.