शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, विपक्षमा ८३ मत मात्रै

155

सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

ठाकुर-यादव दुवै पक्षको मत देउवालाई
देउवाको पक्षमा रिट निवेदनमा जसपाका यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए।तर विश्वासको मतबारे छलफल चलिरहँदा उक्त पक्षमा त्यो सङ्ख्या बढेको खबर आएको थियो। यसअघि महन्थ ठाकुर पक्ष केपी ओलीको सरकारलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो।

देउवाले नेता ठाकुरलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षले मत दिने निर्णय लिएको हो।विश्वासको मत सम्बन्धमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेनन्।मतदान प्रक्रियाका सुरु हुने बेलामा ओली संसद् भवन प्रवेश गरेका थिए। उनको दलबाट नेता प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

ओलीले सम्बोधन नगरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्रीले संसद्मा मत मागेपछि बोल्ने अन्य नेताहरूमा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, राजपा-नेपालका महन्थ ठाकुर र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल थिए।

Leave A Reply

Your email address will not be published.